सरकार र मिटरब्याज पीडितबीच सहमति ,उच्चस्तरीय आयोग गठन गरिने
काठमाडौँ।मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।

सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्ने भएको हो । गृह मन्त्रालयमा आज सरकार र आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको पाँच बुँदे सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त आयोग गठन गर्नेछ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितीमा सो सहमति भएको हो ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीकातर्फबाट सहसचिव प्रदीपकुमार कोइराला, उपसचिवहरु जङ्गबहादुर डाँगी, उमाकान्त अधिकारी तथा दिलकुमार तामाङ र प्रहरी उपरिक्षक दिनेशराज मैनालीले हस्ताक्षर गरेका छन् । साथै सङ्घर्ष समितिकातर्फबाट मनोज पासमान, श्यामकुमार चौधरी, सङ्घर्ष दाहाल, रामरिझन यादव र छेदीलाल पासमानले हस्ताक्षर गरेका छन् ।
सहमतिमा मिटरब्याज पीडितका नियमित रुपमा आउने उजुरी वा गुनासो सम्बोधनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिने उल्लेख छ । जसमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याज पीडितको प्रतिनिधि समेत रहने छन् । जिल्लास्तरीय समन्वय समिति गठन गर्न सरकार समक्ष सिफारिस गरिनेछ । उक्त समितिले पीडितबाट उजुरी तथा गुनासो सङ्कलन तथा प्रमाण जुटाउन सहयोग गर्नेछ भने निःशुल्क कानूनी सहायता तथा सचेतनाका लागि सहजीकरण गर्नेछ ।
अनुचित लेनदेनसम्बन्धी कामलाई कसुर कायम गर्ने गरी अघि बढाइएको कानून संशोधन प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्याउन सरकारलाई अनुरोध गर्ने समेत सहमति भएको छ ।

