आजबाट एसइई परीक्षा , ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुंँदै



काठमाडौं।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुंदैछ । शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

एसईई परीक्षामा यस वर्ष ४ लाख ८४ हजार २ सय २७ जना सहभागी हुँदै छन् । परीक्षामा सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ लाख ६ हजार ९ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३ सय २९ परीक्षार्थी सहभागी हुँदै छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदै छन् ।

यस वर्ष ७ हजार २ सय सामुदायिक र ४ हजार ५ सय ६४ संस्थागत गरी ११ हजार ८ सय २९ विद्यालय एसईईमा सहभागी हुँदै छन् । परीक्षाका लागि देशका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी कुल २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।

त्यस्तै, बाग्मती प्रदेशमा सबैभन्दा बढी ४ सय ३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोसी प्रदेशमा ३ सय ७८, मधेस प्रदेशमा २ सय ७९, गण्डकी प्रदेशमा २ सय २३, लुम्बिनी प्रदेशमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसईईमा अघिल्लो वर्ष देशभरबाट ५ लाख १८ हजार १ सय ८५ विद्यार्थीले आवेदन दिए पनि परीक्षामा भने ४ लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए ।

परीक्षा उपनियन्त्रक लोकनाथ आचार्यले अघिल्लो वर्षको तुलनामा यस वर्ष परीक्षार्थी घटेको बताए । अघिल्लो वर्ष करिब ४ लाख ९५ हजारले परीक्षा दिएका थिए । जनसंख्या घट्दो दरमा रहेकाले पनि परीक्षार्थीको संख्या घट्दै गएको हुन सक्ने आचार्यले बताए । २०७८ सालबाट जुनसुकै उमेर समूहकाले पनि एसईई दिन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्