खुसी हुँदै तीर्थ यात्रामा निस्किए थुलुङ दुधकोशीका ज्येष्ठ नागरिक,अध्यक्ष राईले गरे बिदाई
सोलुखुम्बु। ७० बर्ष उमेर पार गरेर घरमै समय ब्यतित गरिरहेका थुलुङ दुधकोशीका ज्येष्ठ नागरिकहरु आज तीर्थयात्राका लागि निस्कनुभएको छ।

गाउँपालिकाको आर्थिक तथा प्रशासनिक ब्यबस्थापनमा वहाँहरूलाई तीर्थयात्राको यो अवसर जुरेको हो। पालिका भित्रका नौ वटै वडाका इच्छुक झण्डै नौ दर्जन बढी ज्येष्ठ नागरिकहरु बिहिवार छिमेकी जिल्ला खोटाङमा अवस्थित प्रसिद्ध तीर्थस्थल हलेँसी महादेवको दर्शनका लागि निस्कनु भएका जेष्ठ नागरिकहरुलाई पालिकामा आयोजित बिशेष कार्यक्रममा अध्यक्ष अशिम राईले बिदाई गर्नुभएको थियो।
राईले कार्यक्रममा ज्येष्ठ नागरिक ज्युंँदो इतिहास भएको बताउंदै वहाँहरुको भोगाई, ज्ञान र सीप युवा पुष्ताका लागि प्रेरणा र मार्गदर्शन भएको बताउनुभयो।ज्येष्ठ नागरिकको ज्ञान र सीपको भरपुर उपयोग गर्न सकेमात्र आउंँदो पुस्ता सुखी र समृद्ध बन्न सक्ने बताउंदै अध्यक्ष राईले वहाँहरू सबैको आशिर्वादले समृद्ध थुलुङ दुधकोसी निर्माण गर्ने महाअभियानमा सफलता प्राप्त हुने बिश्वास व्यक्त गर्नुभयो।वहाँले आरामदायी यात्राका लागि टोलीलाई शुभकामना समेत दिनुभयो।
तीर्थयात्रामा निस्कनुभएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले टोलीमा स्वास्थ्यकर्मीहरु समेत समाबेश गरेको पालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।कार्कीका अनुसार भ्रमण टोलीको नेतृत्व उपाध्यक्ष सबिता राईले गर्नुभएको छ।
वृद्ध उमेरका कारण आँगन डुलेर बस्नुपरेका बेला गाउँपालिकाले आफ्नै ब्यबस्थापनमा तीर्थ यात्रा गराएको भन्दै ज्येष्ठ नागरिकले खुसी व्यक्त गर्नुभएको छ।तीर्थयात्रामा निस्कनुभएका कतिपयले यो आफ्नो पहिलो बस यात्रा भएको बताउनुभएको थियो ।




