कोशी प्रदेशको सत्ता समिकरण तत्काल नफेरिने
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारबाट तत्काल नबाहिरिने भएको छ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारबाट आफ्ना मन्त्रीहरू तत्काल फिर्ता नहुने बताएका हुन् ।
अहिले तत्काल हामीले सरकारबाट हाम्रो मन्त्रीहरू फर्किने या सरकारलाई दिएको विश्वासको मत अहिले नै हामीले फिर्ता लिने पक्षमा हामी छैनौँ,उनले भने।‘अरु प्रदेशको सत्ता समीकरणको अवस्था र हाम्रो प्रदेशको सत्ता समीकरणको अवस्थामा केही भिन्न अवस्था छ । अहिलेको सरकारलाई विस्थापित गरेर नयाँ सरकार सहजै आउने अवस्था पनि यो प्रदेशमा छैन,’ उनले भने ।
केन्द्रको गठबन्धनले कोशी प्रदेशको समीकरणको बारेमा सामान्य चासो र जानकारी लिए पनि ठोस रूपमा कसरी अगाडि जाने भन्ने बारेमा कुनै निर्देशन नभएको बताए । ‘यहाँ विशिष्ट अवस्था भएको कारणले गर्दा पनि वर्तमान सरकार फेरबदल र नयाँ सत्ता समीकरणको बारेमा सोचिसकेका छैनौँ,’ आङ्बोले भने।
उनले अहिले हिक्मत कार्कीको नेतृत्वको सरकारसँग आरामदायी बहुमत रहेको कारण काँग्रेसलगायतका दललाई समेटेर सर्वदलीय सरकार बनाउनु पर्ने आवश्यकता पनि नभएको बताए ।(फाईल तस्बिर)

