सगरमाथा आरोहणका लागि खुल्यो दोश्रो शिबिरसम्मको बाटो
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि दोस्रो शिबिरसम्मको बाटो खुलेको छ । दोस्रो शिबिरसम्मको बाटो खुलाउने जिम्मा लिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो खुलाएको हो ।

एसपीसीसीमार्फत् खटिएका ६ जना आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भर्याङ राख्ने, डोरी टाँग्ने लगायतका काम गरेर दोस्रो शिबिरसम्मको बाटो खुलाएका एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।
अहिले दोस्रो शिविरसम्म पुग्नका लागि बाटो बनाउने काम अन्तिम चरणमा पुगेको एसपीसीसीले जनाएको छ । यो बाटोबाट सगरमाथासहित ल्होत्से र नुप्त्से हिमालको आरोहण गरिन्छ ।दोस्रो शिविरसम्मको बाटो तयार भइसकेपछि त्योभन्दामाथिको बाटो भने आरोहण गराउने कम्पनीहरूले निर्माण गर्दै आएका छन् ।
एसपीसीसीले बाटो खुलेको जानकारी गराउँदै आरोहीहरूलाई दोस्रो शिविरसम्म जान अनुमति दिएको छ । बाटो खुलाउने जिम्मेवारी लिएको एसपीसीसीले बाटो खुलाएर अनुमति दिएपछि मात्रै आरोहीहरु दोस्रो शिविरसम्म जान पाउँछन् । आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गर्ने काम हुन्छ ।

