जो तपाईं स्वयंलाई थाहा छ भन्दै लिङ्देनले प्रचण्डलाई भने,-‘हातले त के बन्दुकले पनि आवाज थुनिन्न’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हातले मुख थुनेर त के बन्दुकले पनि आवाज थुन्न नसकिने प्रतिक्रिया व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङ्देनले जनताको मुख थुन्ने भन्दा माग पूरा गराउन सुझाव दिएका हुन् ।
‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ,’ लिङ्देनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्न, जो तपाईं स्वयमलाई थाहा छ।’

