‘अयोग्य लडाकु’लाई पैसा बाँड्ने निर्णय अपरिपक्व : महामन्त्री थापा
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश सामान्य खर्च चलाउन पनि ऋण लिने अवस्थामा पुग्न लागेको बेला द्वन्द्वकालका ‘अयोग्य लडाकु’हरूलाई तत्काल राहतस्वरूप पैसा बाँड्ने सरकारको निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसदसमेत रहेका थापाले यसमा प्रधानमन्त्री सचेत नभए समस्या बढ्दै जाने समेत बताए।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमाणीकरण भएका द्वन्द्वकालका ‘अयोग्य लडाकु’हरूलाई कार्यविधि बनाएर राहत उपलब्ध निर्णय गरेको थियो ।
अहिले हामी यस्तो अवस्थामा पुगेका छौँ कि सामान्य खर्च धान्न पनि ऋण लिनुपर्ने हो कि भन्ने तर्फ हामी जादैछौँ,” उनले भने, “यस्तो अवस्थामा मुठ्ठी कहाँ कस्ने भन्ने कुराको मेसो भएन भने त एक पछि अर्को यस्तो निर्णय आउँछ । बाँड्ने कुरा सजिलो र लोकप्रिय कुरा हो,” उनले भने, “म कुनै विषयवस्तुमा जान्न । तर बाँड्ने बेलामा मेरो थैली कस्तो छ भन्ने कुराको बोध नभएको हो कि भन्ने लागेको छ । यस्तो बेलामा गर्न सकिन्न भनेर राज्यको यत्रो ठूलो संरचना छ यो सबै कुराको विषयमा जुन खालको कुरा छ त्यसको बोध र चिन्ता नभएको हो भने चिन्ताको विषय हो।

