प्रधानमन्त्रीले लिए बिश्वासको मत : सरकार बिस्तार र भारत भ्रमण अबको प्राथमिकता
काठमाडौं।प्रतिनिधिसभाबाट दोश्रो पटक बिश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तार र भारत भ्रमणलाई प्राथमिकता दिने भएका छन्।

सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीमाझ दुई/चार दिनभित्रै सरकारलाई पूर्णता दिनुका साथै बैशाखको पहिलो हप्ताभित्र भारत भ्रमण गर्ने गरी तयारी अगाडि बढाउने बताएका हुन्। उनले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि (मङ्गलवार) बिहानदेखि छलफल सुरु गर्ने पनि जानकारी दिए । आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने उनको दाबी थियो।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने समेत बताए ।प्रधानमन्त्री प्रचण्डले सोमबार बसेको प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका थिए । बैठकमा प्रचण्डले १ सय ७२ सांसदको समर्थन प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका हुन् ।
उनको विपक्षमा ८९ मत परेको छ । नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे ।

