पत्रकार महासंघ काठमाडौ शाखाले ‘आदर्श पत्रकारिता पुरस्कार’ स्थापना गर्ने



काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको `आदर्श पत्रकारिता पुरस्कार´ स्थापनाको निर्णय गरेको छ । शंखरापुर नगरपालिका २, जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा शनिबार र आइतबार बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। काठमाडौं शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रकाे आदर्श र गौरवलाई उच्च राख्ने पत्रकारलाई याे पुरस्कार दिइने जिल्ला कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिए ।

चैत्र २५ गते हुने साधारणसभाकाे अवसरमा उक्त पुरस्कार वितरण गरिने समेत बोहोराले बताए । बैठकले साधारणसभा सम्पन्न गर्न अध्यक्ष सूर्य सुवेदीकाे संयोजकत्वमा ५१ सदस्यीय समिति बनाउने निर्णय गर्नुका साथै कार्यसमिति सदस्य रमेश कुमार बोहोराको संयोजकत्वमा भित्ते पात्रो(क्यालेन्ड)प्रकाशन समिति समेत गठन गरेको छ ।

बैठकले समसामयिक बिषयमा ९ बुँदे शङ्करापुर घोषणापत्र समेत जारी गरेको कार्यसमिति सदस्य बोहोराले जानकारी दिए । बोहराका अनुसार घोषणामा श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक दोब्बर बनाउनुपर्ने,लोककल्याणकारी बिज्ञापन बापतको रकम दोब्बर बनाउनुपर्ने,साना लगानी तथा स्वरोजगारमूलक संचार माध्यमलाई प्रदान गरिंदै आएको सहुलियतपूणर् ऋणलाई रु.१० लाखबाट बढाइ रु.२५ लाख पुर्‍याउनुपर्ने,अनलाईन संचार माध्यमलाईसमेत लोककल्याणकारी विज्ञापन विगत दुई आर्थिक वर्षदेखि नै प्रदान गर्ने गरी रकम नै छुट्टाइसकेको तर कार्यविधिको अभावमा हालसम्म पनि कार्यान्वयनको बाटोमा अघि बढ्न नसकेको अवस्थामा तत्काल कार्यविधि बनाएर कार्यान्वयन गर्नुपर्ने लगायत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्