महाकुलुङमा शिक्षा क्षेत्र योजना निर्माण कार्यशाला सुरु



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले रीड नेपालको सहकार्य तथा प्रावधिक सहयोगमा सुरु भएको पालिकाको शिक्षा क्षेत्र योजना निर्माण कार्यशालाको उद्घाटन गरेका छन् ।

बिहिवारबाट सुरु कार्यशालाको उद्घाटन गर्दै गाउँ पालिका अध्यक्ष कुलुङले योजना निर्माण गर्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए। किताबि ज्ञान मात्र भएर नहुने बताउँदै उनले बालबालिकाको व्यवाहारिक सीप विकास अझै महत्त्वपूर्ण हुने धारणा राखे ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले शैक्षिक सुधार गर्नका लागि योजना महत्त्वपूर्ण रहेको बताउँदै शिक्षाको अहिलेको वास्तविक अवस्था विश्लेषण गर्दै आगामी ५ वर्षे शिक्षाको गुणस्तर कहाँ पर्‍याउने भन्ने दूरदृष्टिसहितको रोडम्याप तयार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिए।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक पर्खिधन नाछिरिङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उद्घाटन कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख झमक कटुवालले गर्नु भएको थियो।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विपना कुलुङ वडाध्यक्षहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु शिक्षक अभिभावक संघका अध्यक्षहरु विभिन्न विद्यालयका प्रधानाध्यापकहरु स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण शिक्षा मन्त्रालयका पूर्व सहसचिव निरा शाक्य र नेपाल सरकारका उप सचिव रेवतीप्रसाद पराजुलीले गरिरहेको बताईएको छ।

यो भन्दा आगाडी थुलुङ दुधकोशी , सोलुदुधकुण्ड, नेचा र सोताङ गाउँपालिकामा यही प्रकृतिको कार्यशाला संचालन गरिसकेको रीड नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्