प्रचण्डले राजनीतिलाई जुवाको खाल बनाए: ज्ञवाली
काठमाडौं । एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महिनाअघि मात्र निर्माण भएको गठबन्धनलाई तोडेर राजनीतिलाई जुवाको खालजस्तो बनाएको आरोप लगाएका छन् ।
एमालेसहित सात दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले प्रतिपक्षी कांग्रेससहित आठ दलसँग राष्ट्रपति चुनावबारे गरेको नयाँ सहमतिबारे प्रतिक्रिया दिंदै ज्ञवालीले सो कुरा बताएका हुन् ।

सत्तारुढ गठबन्धन तोडिसकेकाले अब यो अघि बढ्ने संभावना नरहेको बताउंदै उनले यो मुलुकलाई अस्थिरतातिर धकेल्ने निर्णय भएको बताए। यसबारे भोलि बस्ने सचिवालय बैठकले संस्थागत निर्णय गरेर अघि बढ्ने उनले बताए।