भूगोल साहित्य समाजद्वारा विशेष कार्यक्रमको आयोजना
काठमाडौं।भूगोल साहित्य समाजले स्वर्गीय कविभूपी शेरचन,कविशिरोमणी लेखनाथ पौड्याल तथा नाट्यसम्राट बालकृष्ण समको स्मृतिमा परिचर्चा कार्यक्रम आयोजना गरेको छ ।
सोमबार आयोजित‘शब्दहार’नाम दिई आयोजना गरिएको सो विशेष कार्यक्रम समाजको सभाकक्ष दरबारमार्गमा सम्पन्न भएको हो ।समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गजलकार एवम् अनुवादक रामबहादुर पहाडी तथा अतिथिहरूमा युवराज मैनाली,कलानिधी दाहाल,बासुदेव गुरागाईँ, डा.टंकप्रसाद पन्थ, ममता मृदुल हुनुहुन्थ्यो ।कार्यक्रममा समाजका मानार्थ सदस्यहरू सुशील श्रेष्ठ,टेकराज जोशी र उद्धव खनालको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा भूपीको व्यक्तित्व र कृतित्वबारे ममता मृदुलले बोल्नुभएको थियो र उहाँले भूपीका दुई कविता वाचन गर्नुभएको थियो भने कविशिरोमणी लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्वबारे बोल्नुहुने बासुदेव गुरागाईले लेखनाथका केही कवितावाचन गर्नुभएको थियो । समकाबारे बोल्नुहुने समीक्षक युवराज मैनालीले समको बहुआयामिक व्यक्तित्वबारे बोल्नुका साथै समको कृतिका अंशहरू सुनाउनुुभएको थियो ।
कार्यक्रमका अतिथि डा. पन्थले तीनै स्रष्टाका एक–एकवटा रचनालयात्मक शैलीमा वाचन गर्नुभएको थियो भने अर्का अतिथि दाहालले तीनै जना स्रष्टाकाबारे सङ्क्षिप्तमा बोल्नुका साथै भूगोल साहित्य समाजले अझ सक्रियता बढाउनुपर्ने र अझ राम्रा कार्यक्रम गर्नुपर्ने सुझावदिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पहाडीले समाजका साहित्यिक कृयाकलापको प्रशंसा गर्नुभयो भने आगामी दिनमापनि समाजले अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति श्रद्धान्जलि अर्पण गर्नुका साथै समाजका तर्फबाट शताब्दीपुरुष सत्यमोहन जोशीप्रति पनि हार्दिक श्रद्धान्जलि अर्पण गरिएको थियो ।
आगन्तुक अतिथिहरूको स्वागत कार्यसमिति सदस्य नवराज पुडासैनी‘ज्योत्सना’ले गर्नुभएको कार्यक्रममा उपाध्यक्ष दिनेश विक्रम थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो।कार्यक्रम सचिव शैलेन्द्रकुमार शाहले सञ्चालन गर्नुभएको थियो ।कार्यक्रममा झण्डै तीनदर्जन स्रष्टा तथा साहित्यानुरागीको उपस्थिति थियो ।
२०७९।०९।२५