फलफूल तथा तरकारी खेतीको बिकासका लागि मेयर शेर्पाको पहल सार्थक बन्दै



सोलुखुम्बु।कृषि मन्त्रालयले सोलुदुधकुण्ड नगरपालिकाका लागि
१ करोड ७५ लाख थप बजेट उपलब्ध गराउने भएको छ।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको पहलमा आत्मनिर्भर कृषि कार्यक्रम अन्तर्गत थप गरिएको सो बजेट तरकारी र आलु खेतीको प्रबर्द्धनमा खर्च हुने बताईएको छ।सो बजेट मध्ये १ करोड तरकारी खेती र ७५ लाख आलुखेतीका लागि छुट्याइएको छ ।नगरपालिकाले चालु आर्थिक बर्षभित्र सम्पन्न हुने गरी उक्त कार्यक्रम प्रभावकारी रूपमा कार्यन्वयन गर्ने नगरप्रमुख शेर्पाले बताए।

नगरप्रमुख शेर्पाका अनुसार फलफूल तथा तरकारी बालीका लागि स्थानीय कृषकहरूलाई एसियाली बिकास बैंक ‘एडीबी’ले आर्थिक अनुदान उपलब्ध गराउने सम्बन्धि कार्यक्रम पनि सोलुदुधकुण्ड नगरपालिकामा छिटै कार्यान्वयनमा आउंदैछ।सो कार्यक्रमका लागि मुलुकभर एकसय वटा स्थानीय तह छनौट भएकोमा त्यसको कार्यान्वयन सोलुदुधकुण्डबाट सुरु गर्ने समझदारी छ।

पाँच बर्षसम्म संचालन हुने फलफुल तथा तरकारी वाली सम्बन्धि उक्त कार्यक्रम आगामी बर्खे सिजनबाट सुरु हुने गरी कार्यबिधि निर्माण भइ रहेको शेर्पाले बताए।यो कार्यक्रम अन्तर्गत एडीबीले मापदण्ड पुगेको ब्यक्ति,समूह वा कम्पनीलाई ओखर,किवी,स्याउ र तरकारी खेतीका लागि पचास प्रतिशत अनुदान उपलब्ध गराउने छ।

यसका लागि न्युनतम २० रोपनी क्षेत्रफल हुनुपर्ने मापदण्ड तोकिएको छ।उक्त क्षेत्रफलमा आफ्नै लगानीमा उल्लेखित खेती सुरु गरेपछि नगरपालिकाले छनौट गरेका कृषक,कृषक समूह वा कम्पनीलाई एडीबीले सो अनुदान दिने नगरप्रमुख शेर्पाले जानकारी दिए।यो कार्यक्रम नगरभित्रका वास्तविक कृषकहरुका लागि लाभदायक हुने उनको भनाई छ ।(फाईल फोटो)

प्रतिक्रिया दिनुहोस्