गठबन्धनलाई निरन्तरता दिन आफूले पहिला प्रधानमन्त्री पाउनुपर्ने प्रचण्डको अडान
काठमाडौं।नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्तमान गठबन्धनलाई निरन्तरता दिन भए पनि आफूले पहिला प्रधानमन्त्री पाउनुपर्ने अडान दोहोर्याएका छन् ।

शनिबार बिहान आफुलाई भेट्न् आफ्नै निवास खुमलटार आईपुगेका कांग्रेस नेता रामचन्द्र पौडेलसंग कुरा गर्दैन प्रचण्डले सो अडान दोहोर्याएका हुन्। भेटमा गठबन्धनलाई अगाडि बढाउनेबारे कुरा भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
प्रचण्डले चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने सहमति भएकाले सहमति लागू गर्नुपर्नेमा जोड दिए भने पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर कुरा टुङ्ग्याउन भनेका अधिकारीले बताए ।पौडेलले वर्तमान गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिँदै आएका छन् ।
सत्ता गठबन्धनमा ‘पावर सेयरिङ’को कुरा मिलिसकेको छैन । बिहीबार गठबन्धनका तीन शीर्ष नेताहरूबीच छलफल भए पनि निस्कर्षबिना सकिएको थियो । शुक्रबार पनि देउवा र प्रचण्डबीच भेट भएको थियो । तर भागबण्डामा कुरा नमिलेको बताइन्छ ।
शुक्रबार देउवा-प्रचण्डबीच भेटवार्ता सकिएपछि कांग्रेस नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । उक्त बैठकमा गठबन्धनलाई कसरी अगाडि लैजाने र प्रचण्डकाे अडानलाई कसरी सम्बाेधन गर्ने भन्नेमा छलफल भएको बताइएको छ ।

