प्रतिनिधिसभा सदस्यहरुले लिए सपथ,चार जना अनुपस्थित
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहिवार आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरुलाई शपथ गराएका हुन् ।

शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोशाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए । संसद सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाउनुभएको बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
सपथ ग्रहणमा ४ जना सांसद अनुपस्थित भएका छन् । आज अनुपस्थित सांसदहरुको शपथ ग्रहण पछि हुनेछ ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कुल दुई सय ६५ सांसद छन् ।

