गुणस्तरीय शिक्षा थुलुङदुधकोशीको प्राथमिकता : अध्यक्ष राई



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सम्वृद्व गाउँपालिका निर्माणका लागि विभिन्न सहयोगी संस्थासंग सहकार्य गरि काम गर्ने नीति ल्याएको बताउनुभएको छ । जीवन ज्योति माध्यमिक विद्यालय नेलेमा नवनिर्मित छात्रावासको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै अध्यक्ष राईले काम गर्ने गैरसरकारी संस्थालाई काम गर्ने वातावरण निर्माण गरिएको बताउनुभयो ।

गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै अध्यक्ष राईले त्यो कर्तव्य पूरा गर्नको लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । आफ्नो पहिलो कार्यकालमा लोखिममा र दोस्रो कार्यकालमा बिहिवार नेलेमा सुविधासम्पन्न छात्रवास उद्घाटन गरेको भन्दै अध्यक्ष राईले पालिका भित्रका अन्य विद्यालयमा निर्माण गर्न लागत साझेदारीका लागि पालिका तयार रहेको पनि बताउनुभयो ।

सुनौलो शिक्षा नेपालद्वारा रु.१ करोड ९१ लाखमा निर्माण सम्पन्न भवन उद्घाटनको अवसरमा सहयोगीलाई सम्मानपत्र समेत प्रदान गरिएको छ । ५ वर्षसम्म उक्त छात्रवासको व्यवस्थापन गर्ने सम्पुर्ण जिम्मेवारी सहयोगी संस्थाको रहने स्कुल एट स्टेका प्रमुख गेले राप्के शेर्पाले बताउनुभयो । छात्रवास संचालनपछि शैक्षिक गुणस्तर वृद्धिमा महत्त्वपूर्ण सहयोग पुग्ने उहाँको विश्वास छ ।

विद्यालयका प्रधानाध्यापक प्रभुराम बस्नेतले सहयोगी सबैलाई धन्यवाद दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर बस्नेतको अध्यक्षता तथा पालिका प्रमुख असिम राई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्की, वडा नम्बर २ का वडा अध्यक्ष युजन बस्नेत, वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्र दिप राई र समन्वय समिति सदस्य सीता थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्