दीपक समीपका चार मुक्तक



मुक्तक १
रहेछन् यहाँ मायाप्रेमका भिखारी मात्रै
सम्झी सम्झी भएको छु दिक्दारी मात्रै
घाउ सन्चो बनाइदिने कोहि भेटिएनन् ,
भेटिए सिर्फ यहाँ बैंसका शिकारी मात्रै ।
मुक्तक २
स्वार्थी मनले आफन्त पराई बनाइदिन्छ
ऐनाले जे जस्तो छ, त्यस्तै देखाइदिन्छ
धनी र गरीबको आँगन चिन्दैन फूलले,
फूल त जहाँ फुले पनि मुस्कुराइदिन्छ ।
मुक्तक ३
केही बोलुँला झैं गर्छौ तर अन्कनाएर जान्छौ
त्यो नखरा ,हर्कतले मुटुमै रन्थनाएर जान्छौ
साँच्चै! मलाई तिमी लाग्छौ भुईचालो जस्तो,
अचानक आउछौ र खण्डहर बनाएर जान्छौ ।
मुक्तक ४
चुनाबले कोहि भुइँमा पुगे कोहि भित्तामा पुगे
कोहि आफ्नै भित्र, कोहि फरक कित्तामा पुगे
चुनावले केहि नेताको साइज यस्तो बनाइदियो,
हेर्दा हेर्दै चार हातबाट केवल एक बित्तामा पुगे ।पाेखरा

प्रतिक्रिया दिनुहोस्