सौरभ कारन्जितका चार मुक्तक



मुक्तक ~ १

आउने गर्छ साँझ, लिएर तिम्रो याद
जाने गर्दछ साँझ, दिएर तिम्रो याद
जे सुकै गरे पनि, भुल्न सकिनँ मैले
बित्छ हरेक साँझ, पिएर तिम्रो याद ।।

मुक्तक ~ २

प्रयास गर्दै अप्ठेरा पल छाँट्दै आएको छु
दु:ख पीडा झेल्छु भनी आँट्दै आएको छु
लुकाएर आँसु अनि ….. देखाएर हाँसो
‘सदा खुशी छु म’ भनी ढाँट्दै आएको छु ।।

मुक्तक ~ ३

‘आफन्त’हरु सोच्दा हुन्, नोटका बिट्टाहरु छाप्दैछु म
दौंतरी साथीहरु भन्दा हुन्, सुखको घाम ताप्दैछु म
आफ्नो देश छोडेपछि, बल्ल जीवन बुझ्दैछु अहिले
किन आएँ परदेश भनी … आफैंलाई सराप्दैछु म ।।

मुक्तक ~ ४

नजिकबाट अँगालेरै हिमाल हेर्न पाइयोस्
मनोरम नदि, तलाउ र ताल हेर्न पाइयोस्
लामो समय पछि आफ्नो प्यारो मातृभूमि पुग्दा
सुन्दर शान्त र समृद्ध ‘नेपाल’ हेर्न पाइयोस् ।।

चोछें ९, ललितपुर, नेपाल
हाल : बेल्जियम

प्रतिक्रिया दिनुहोस्