आजबाट स्थानीय तहमा प्रशिक्षण शुरु गर्दै सोलुखुम्बु एमाले



सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुले आजबाट गाउँपालिका स्तरीय प्रशिक्षण सुरु गर्ने भएको छ।आठ वटै स्थानीय तहमा आयोजना गरिने प्रशिक्षण प्रदेश निर्बाचन क्षेत्र ‘क’ को महाकुलुङ र प्रदेश निर्बाचन क्षेत्र ‘ख’ को खुम्बु पासाङल्हामू गाउँपालिकाबाट सुरु गर्न लागिएको जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।

वर्तमान राजनीतिक शक्ति सन्तुलन तथा पार्टीको संगठन विस्तार गरी प्रमुख शक्तिमा एमालेलाई स्थापित गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्न लागिएको बास्तोलाको भनाई छ।जिल्लामा सुदृढ नेकपा एमाले निर्माण अभियानका लागि समसामयिक राजनीति र बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचन परिणाम र आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनमा अपनाउनुपर्ने रणनीति र खेल्नुपर्ने भूमिकाका सन्दर्भमा जिल्लाका आठवटै स्थानीय तहका कार्यकर्ताहरुलाई भाद्र १५ गतेसम्म प्रशिक्षित गरिनेछ ।

सम्बन्धित पालिका इन्चार्ज, पालिका कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्यहरुको संयोजनमा पार्टी केन्द्रीय सदस्य मानवीर राई, राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, प्रदेश नं. १ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सांसद उत्तम कुमार बस्नेत तथा जिल्ला कमिटी अध्यक्ष बास्तोलालगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । अध्यक्ष बास्तोलाका अनुसार प्रदेश निर्वाचन क्षेत्र (ख) का स्थानीय तहमध्ये शुक्रबार खुम्बु पासाङल्हामु, भाद्र १२ गते माप्यदुधकोशी, १३ गते सोलुदुधकुण्ड नगरपालिका र १५ गते लिखुपिके गाउँपालिकामा प्रशिक्षण सञ्चालन गरिनेछ भने प्रदेश निर्वाचन क्षेत्र (क) को महाकुलुङमा भाद्र १० गते, सोताङमा ११ गते, थुलुङदुधकोशीमा १२ गते र नेचासल्यानमा १३ गते प्रशिक्षण सञ्चालन गरिनेछ ।

त्यस्तै, प्रदेश निर्वाचन क्षेत्र (क) मा राष्ट्रिय सभा सदस्य शेर्पा, प्रदेश सांसद राजभण्डारी, प्रदेश कमिटी सदस्य बच्चुनारायण श्रेष्ठ, डिवी रानापाल, श्याम क्षेत्री, कुमार राई, जिल्ला कमिटी सचिव आसकुमार राई, सहसचिव दिपक राज भण्डारी र नगर कमिटी अध्यक्ष मिङ्मा छिरी शेर्पाले तथा निर्वाचन क्षेत्र (क) मा महेश किराँती, मानविर राई उत्तम कुमार बस्नेत, दुपकुमार बास्तोला, हर्कबहादुर राई, पोष्ट कुमार कार्की, सूर्यकुमारी सुनुवार, पासाङ छिरी शेर्पाले प्रशिक्षण दिने नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्