चुनाव घोषणासंगै प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल सकिनुपर्ने माग गर्दै दायर रिट सर्बोच्चमा दर्ता



काठमाडौं।चुनाव घोषणा भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिनुपर्ने माग राखेर परेको रिट सर्वाेच्च अदालतमा दर्ता भएको छ ।

अधिवक्ता मनिराम उपाध्यायलगायतले हिजो बिहीवार चुनावकाे मिति घोषणापछि प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिनुपर्ने भनी पेस गरेको निवेदन कामु मुख्य रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपिठ गर्नुभएको थियो । दरपिठको आदेशविरुद्ध अधिवक्ता उपाध्यायलगायतका निवेदकहरूले सर्वोच्च अदालतमै निवेदन दिएकोमा निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मलता माथेमाको इजलासले दरपिठ आदेश बदर गरेर निवेदन दर्ता गर्नू भनी आदेश दिएको हो । आदेशपछि रिट दर्ता गरेर सुनुवाइका लागि आइतवारको समय तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

रिट निवेदनमा चुनावको घोषणापछि प्रतिनिधि सभाको कार्यकाल सकिने भएकाले त्यसयता गरेका सबै निर्णय र काम–कारबाही बदर हुनुपर्ने मागसमेत गरिएको छ । निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभा, सात वटै प्रदेश सभालाई विपक्षी बनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्