पुनर्विचार गर्न भन्दै राष्ट्रपतिले गरिन् नागरिकता विधेयक संसदलाई फिर्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरिदिएकी छन् ।

विधयेकमा संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
“नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।
विधेयक गत साउन ६ गते प्रतिनिधिसभाबाट र साउन १२ गते राष्ट्रियसभाबाट पारित भएर साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो।

