मधेस प्रदेश सरकारले थाल्यो आन्दोलन,प्रदेश प्रमुखको कार्यालय अगाडी मन्त्रीहरुकै धर्ना
जनकपुर।मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन्।

प्रहरी समायोजन गर्न माग गर्दै मधेशका मुख्यमन्त्री लालबाबु राउत सहित मन्त्रीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका हुन्। उनीहरू कार्यालय खुलेसँगै धर्नामा बसिरहेका छन्।
एक सातासम्म चल्ने धर्ना कार्यक्रम हरेक दिन दुई घण्टा चल्ने जनाइएको छ । पहिलो दिन आइतबार पौने १२ बजेदेखि पौने दुई घण्टासम्म चल्नेछ ।
त्यसपछि पनि संघीय सरकारले प्रहरी समायोजनाको प्रक्रिया अघि नबढाए अर्को चरणको आन्दोलन गर्ने मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहले बताए।
संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखा पर्दै आएको छ।साउन २२ मा मधेस सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम ध्यानाकर्षण पत्र नै बुझाएको थियो । तर माग सम्बोधन नभएपछि शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले औपचारिकरुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।

