फाप्लु अस्पतालमा सुबिधासम्पन्न भवन,अब सेवामा गुणस्तरीयता ल्याउनुपर्ने नगरप्रमुख शेर्पाको भनाई



अञ्जु कार्की, सोलुखुम्बु।सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुको सुविधा सम्पन्न भवनको उद्धघाटन गरिएको छ ।

नेपाल सरकार सहरी विकास मन्त्रालयको २१ करोड २१ लाखको लागतमा निमार्ण गरिएको सुबिधा सम्पन्न सो भवनको बुधबार जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला र सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले रिवन काटेर संयुक्तरूपमा उद्घाटन गरेका हुन्। लिफ्टसहितको अपांगमैत्री सो भवन भवन विसं २०७६ साल पुस २७ गतेबाट निर्माण सुरु भएको थियो।

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दे नगरप्रमुख शेर्पाले लामो समयपछि जिल्लामा सुबिधा सम्पन अस्पताल भवन निमार्ण गर्न सफल भएको बताए । सुविधासम्पन्न भवन निर्माणपछि अव सेवामा समेत गुणस्तरीयता ल्याउन आवश्यक रहेको बताउंदै उनले जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

विसं २०२५ सालमा सर एडमन्ड हिलारीद्वारा स्थापना गरिएको फाप्लु अस्पताल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमध्ये नयाँ निमार्ण गरिएको भवन ७ रोपनी क्षेत्रफलमा बनेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै सुविधा सम्पन्न भवन नहुँदा दशकौं देखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।

भवन सञ्चालनमा आएपश्चात साँगुरो भवनबाट सेवा प्रभाह गर्नुपर्ने बाध्यताबाट अस्पताल मुक्त हुने विश्वास गरिएको छ । तर सरकारले कर्मचारीको दरबन्दी घटाउँदा सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

कार्यक्रममा समन्वय प्रमुख निरौला र अस्पतालका निमित्त कार्यालय प्रमुख सानी शेर्पा र महिला नेत्री सूर्यकुमारी सुनुवार लगायतले पनि आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्