उच्चे छोलिङ गोन्पाको गोन्पा रब्ने तथा उद्घाटन सम्पन्न



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं– ३ मा श्री उच्चे छोलिङ गोन्पाको गोन्पा रब्ने तथा उद्घाटन गरिएको छ।बौद्ध धर्म गुरु केप्जे नटुल रिम्पोन्छेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आइतबार खुम्बु पासाङल्हामु गाउँपालिकाका कार्यपालिका सदस्य लाक्पा ग्याल्जेन शेर्पाले जग्गा दाता गुम्बा निर्माणका क्रममा सहयोग गर्ने दाताहरुलाई धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रमका विशिष्ठ अतिथि ३ नं. वडाअध्यक्ष नुरु जाङबु शेर्पाले गुम्बाको ऐतिहासिक पृष्ठभूमि बारे जानकारी दिँदै हाल गुम्बा व्यवस्थापन समिति, गुम्बाका प्रमुख लामा र सम्पूर्ण सहयोग दाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए । उनले सम्पूर्ण प्राणिजगतको भलाइका लागि गुम्बा निर्माणका लागि गाउँपालिकाले सहयोग गर्दै आएको र गुम्बाको विकासमा आगामी दिनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गुम्बाका प्रमुख लामा ङवाङ दोर्जी शेर्पाले गोन्पामा सहयोग गर्ने सम्पूर्ण दाताको नामावली सार्वजनिक गरेका थिए । गोन्पा समितिका अध्यक्ष दावा ग्याल्जेन शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. ३ का वडा सदस्य कामी छिरी शेर्पालगायत उपस्थित थिए ।

कार्यक्रममा शेर्पा जातिको पहिचान झल्कने नृत्यका साथै युवा वर्ष आधारभूत विद्यालयको छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए । गोन्पामा नगद तथा जिन्सी सहयोग गर्ने दाताहरुलाई सम्मान, गोन्पा रब्ने तथा मानी उद्घाटन गोन्पा परिक्रमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्