सप्तकोसी बाढी : उदयपुर र सुनसरीका सयौं परिवार अझै उद्दारको पर्खाईमा



विराटनगर।सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किएको छ । कोसीले पुरानै बाटो पहिल्याउँदा सप्तरी र उदयपुरका दर्जनौं बस्ती डुबानमा परेका छन् ।

सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएको हो । अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाउँबाट कोसी बग्ने गरेको स्थानीयले बताएका छन् । ०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियोे । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बसेको थियो । अहिले कोसीले धार परिवर्तन गरी पुरानै ठाउँमा आएपछि त्यहाँ बसेका बस्ती प्रभावित भएका हुन् ।

बेलका नगरपालिकाका स्थानीयका अनुसार वडा नम्बर १, २, ३, ४, ८ र ९ का बस्ती बाढीले प्रभावित भएको छ । बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएको उनीहरूको भनाइ छ । बेलका–३ मा मात्र ९ सय घर प्रभावित भएको स्थनीयले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विद्यालय र सार्वजनिक भवनहरूमा पनि बाढी प्रभावितलाई राख्ने तयारी गरेको छ । बाढी विस्थापितहरू अहिले आफन्तकोमा शरण लिइरहेका छन् ।

यता सप्तकोसी नदीको तटबन्ध फुटेर बाढी गाउँ पस्दा सुनसरी र उदयपुर जिल्लाका दुई स्थानीय तहका सयौं मानिस बाढीमा फसेका छन् । बुधबार बिहान बाँध फुटेर गाउँमा बाढी पस्दा सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ का २१ सय परिवार र उदयपुरको बेलका नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ का ४ हजार घर परिवार प्रभावित भएका छन् । यस्तै बाढीमा फसेका करिब २४ सय घरधुरीको अझै उद्धार हुन सकेको छैन ।

बस्तीलाई बाढीले टापुमा परिणत गरिदिएपछि उनीहरूको उद्धार हुन नसकेको हो । बाढीमा फसेकाहरूलाई सशस्त्र प्रहरीको दुईवटा ढुंगाले उद्धार प्रयास गरिरहेको छ । सशस्त्र प्रहरीलाई स्थानीयवासी, सामाजिक संघसंस्था, नेपाल प्रहरी र नेपाली सेनाले उद्धारमा सहयोग गरिरहेको छ ।स्थानीय प्रशासनका अनुसार बाढी आउने पूर्वसूचना मंगलबार राति नै दिएका कारण क्षति कम भएको हो । प्रशासनले सर्वसाधारणलाई मंगलबार नै ‘हाइ अलर्ट’ गराएको थियो । प्रशासनको अलर्टपछि कतिपय सर्वसाधारण राति नै उदयपुरको रामपुर आएका थिए ।

बाढीबाट सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्षका ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् । बेलकामा मात्रै २० हजार बढी नागरिक विस्थापित हुने मेयर अशोक कार्कीको भनाइ छ ।बाढीबाट अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको सूचना नआएको प्रहरीले जनाएको छ । भौतिक संरचनामा क्षति पुगे पनि मानवीय क्षति रोक्न सकेको प्रशासनको भनाइ छ । प्रशासनका अनुसार सप्तकोसीमा पानीको सतह बढेपछि आवश्यक ब्यारेजको ढोका नखोल्दा बाँध फुटेको हो ।

अहिले सप्तकोसीको जम्मा ३४ वटा ढोका खुलेका छन् । पानीको सतहअनुसार कम्तीमा पनि ४२ वटा खुल्नुपर्ने थियो ।यसैबीच प्रदेश १ का आन्तरिक मामलामत्री केदार कार्की, भौतिक पूर्वाधारमन्त्री हिमाल कार्की, सुनसरी, मोरङ, उदयपुर र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । प्रभावित क्षेत्रमा पुगेका मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रभावितहरूको सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताउनुभएको खबर आजको समाचारपत्रले छापेको छ।(फाईल फोटो)

प्रतिक्रिया दिनुहोस्