तामाखानीबाट दुधकुण्डसम्म केवलकार निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढाइने



सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले गत आर्थिक बर्ष सम्पन्न योजनाहरुको समिक्षाका लागि साउन २२ गते नगरसभाको बैठक बोलाउने निर्णय गरेको छ।

नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा मंगलबार सम्पन्न नगरकार्यपालिकाको बैठकले २५ वटा विभिन्न निर्णय गर्दै २२ गते नगरसभा बैठक बोलाउने निर्णय गरेको हो।बैठकले गत स्थानीय तह निर्बाचनमा घोषणापत्रमा उल्लेख गरिए अनुसार तामाखानी–पिके, दिमिल–पिके बेनी–वोरगाङदो डाँडा र रिङमु–दुधकुण्ड केवलकार अध्ययन गर्न इन्फ्राइन्सट्रक्चर विकास बैंक लगायतसँग अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको नगर प्रमुख शेर्पाले जानकारी दिए।

नगरप्रमुख शेर्पाका अनुसार सिसाखोलामा अध्ययन भएको २.८ मेगावट क्षमताको जलविद्युत आयोजना नगरपालिकाको स्वामित्वमा ल्याई दिगो सञ्चालनका लागि दातृ निकायसँग समन्वय गर्ने, नगर कार्यपालिका र वडा कार्यलयको भवन लगायतका अन्य पुर्वाधार विकास आयोजनाहरुको काम अघि बढाउनका लागि विस्तृत प्रतिवेदन तयार गर्ने, चकमके डाँडामा टावर विस्तारको कामलाई तिब्रता दिन टेलिकमलाई ध्यानकर्षण गराउने निर्णय गरिएको पनि उनले जानकारी दिए।

शहरी विकास मन्त्रालयबाट सघन सहरी पुर्वाधार कार्यक्रमको लागि बिनियोजन गरिएको १ करोड ८० लाख रकमबाट सोलुदुधकुण्ड नगरपालिका ४ स्थित बस पार्कको बाँकी निर्माण कार्यलाई डिपिआर अनुसार कार्य गर्न रकम पर्याप्त नभएकोले थप बजेट माग गरि क्रमागत कार्य गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने, १ करोड ८० लाखको लागतमा वडा नम्बर ६ को नयाँ बजार छेउ देखि दोर्पु हुँदै वडा कार्यालय सम्म जोड्ने सडक स्तरोन्नतीका लागि सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।

जथाभावी बनेका घर नगरपालिका र वडा मार्फत अनुगमन गरि त्यस्ता कार्यलाई निरुत्साहित गर्ने नगरपालिकाबाट भवन निर्माण मापदण्डलाई कडाई गर्ने निर्णय पनि गरिएको छ । वडा कार्यालयको प्रशासनिक भवन निर्माण कार्यको ऐन नियम अनुसार म्याद थप्ने, सडक बत्तिको अनुगमन र निरक्षण गरि मर्मत संभार गर्ने ,खाम्दिङमा प्रहरी चौकी स्थापनाका लागि माग गर्ने ,
वडा नम्बर १, ९ र १० मा शाखा रहित बैंकिङ सेवाका लागि विभिन्न बैँकलाई अनुरोध गर्ने र काम सम्पन्न नभएका लामजुरा सडक स्तरोन्नती, सिसाखोला पुल, सोलुखोला पुल, दुग्ध संकलन केन्द्र योजनाको म्याद थप गर्ने लगायतका निर्णय गरेको पनि नगरप्रमुख शेर्पाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्