सोलुखुम्बुमा पहिलो पटक स्नोकर प्रतियोगिता सुरु, आठवटै स्थानीय तहबाट खेलाडी छनौट गरिने



गार्डेन राई ,सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा पहिलो पटक स्नोकर छनौट प्रतियोगिता सुरु भएको छ ।

स्टार युथ क्लव सोलुखुम्बुको आयोजनामा सोलुदुधकुण्ड नगरपालिकामा आजदेखि स्नोकर छनौट प्रतियोगिता सुरु भएको हो । सदरमुकाम सल्लेरीस्थित एभरेष्ट स्नोकर हाउसमा सञ्चालन भइरहेको छनौट खेलमा सोलुदुधकुण्ड नगरपालिकाका १६ जना खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ ।

स्नोकर खेललाई समय बिताउने खेलको रुपमा मात्र लिइरहेकाले यस खेललाई जिल्लामा विस्तार गर्ने साथै खेलाडीहरुलाई समेत प्रोत्साहन गर्दै खेलको महत्वलाई बढावा दिनका लागि जिल्लामा पहिलो पटक खेल सञ्चालन गरिएको स्टार युथ क्लव सोलुखुम्बुका वरिष्ठ उपाध्यक्ष माया शेर्पाले जानकारी दिनुभयो । यस्तै जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सोलुखुम्बुका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रतियोगिताको सुरुवात गरिएको उहाँको भनाइ छ ।

जिल्लाको आठवटै स्थानीय तहमा स्नोकर छनौट प्रतियोगिता हुने भएको छ । स्टार युथ क्लव सोलुखुम्बुकी वरिष्ठ उपाध्यक्ष शेर्पाका अनुसार सोलुदुधकुण्ड नगरपालिकामा साउन १४ र १५ गते, लिखुपिके गाउँपालिकामा साउनको १६ र १७ गते, नेचासल्यान गाउँपालिकामा साउनको १८ र १९ गते साथै थुलुङ दुधकोशी गाउँपालिकामा साउन २१ र २२ गते स्नोकर छनौट प्रतियोगिता सञ्चालन हुने खेल तालिका तय भएको छ ।

यस्तै साउनको २४ र २५ गते सोताङ गाउँपालिकामा, ३० र ३१ गते माप्य दुधकोसी गाउँपालिकामा र भदौको ३ र ४ गते खुम्बु पासाङ ल्हमु गाउँपालिकामा सञ्चालन हुने शेर्पाको भनाइ छ ।

साउन १४ गतेबाट सुरु भएको प्रतियोगिता भदौको १४ गते सदरमुकाम सल्लेरी स्थित एभरेष्ट स्नोकर हाउसमा सम्पन्न हुने आयोजकले जनाएको छ ।आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो हुनेलाई ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुनेलाई २२ हजार २ सय २२ रुपैया नगदका साथमा ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्