नेचासल्यानका करार कर्मचारीद्वारा दायर रिटमा कारण देखाउ आदेश जारी



डिल्ली शर्मा,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको निर्णय विरुद्ध अस्थायी, करार तथा ज्यालादारी १६ जना कर्मचारीहरुले दायर गरेको रिटमा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले कारण देखाउ आदेश जारी गरेको छ।

असार ३१ गते बसेको गाउँ कार्यपालिकाको बैठकले साउन १ गते लागु हुने गरि करार अवधि थप नगर्ने निर्णयविरुद्ध उत्प्रेषण मिश्रित परमादेश निषेधाज्ञा जारी गर्न माग गर्दै दायर गरिएको सो रिटमा सुनुवाइ गर्दै न्यायाधीश शकुन्तला घिमिरेको एकल इजलासले बिपक्षीको माग बमोजिम गर्नु नपर्ने कारणबारे बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। शुक्रबार जारी उक्त आदेशमा गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत लवुन राइको हकमा उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगामार्फत र अन्य बिपक्षीहरुको हकमा आफैं वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ।

निवेदकहरुले बिपक्षी कार्यालयमा कार्यरत रहे भएको भन्ने कागजातहरु मिसिल संलग्न नरहेको र नभएका कारण माग बमोजिमको अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर समेत इजलासले गरेको छ।

पालिकाको करार कर्मचारी म्याद थप नगर्ने निर्णय पछि नेचासल्यान गाउँपालिका अन्तर्गत विभिन्न कार्यालय र नेचासल्यान अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थाको सेवा अवरुद्ध हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्