निर्णय सच्याउन नेचासल्यान गाउँपालिकालाई करार संघर्ष समितिको २४ घण्टे अल्टिमेटम
डिल्ली शर्मा,सोलुखुम्बु।करार अवधि नविकरण नगर्ने गाउँ कार्यपालिकाको निर्णयसंगै पदमुक्त भएका नेचासल्यान गाउँपालिकाका अस्थायी,करार तथा ज्यालादारी कर्मचारीहरुहरुले निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका छन् ।

करार कर्मचारी संघर्ष समिति नेचासल्यानकि संयोजक लिला राईको नेतृत्वमा गएको टोलिले मंगलबार उपाध्यक्ष बिना राईलाई ध्यानाकर्षण पत्र बुझाउदैं निर्णय सच्याउनका लागि २४ घण्टे अल्टिमेटम दिएको हो।
प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै बुझाइएको सो ध्यानाकर्षणपत्रमा इमान्दारीताका साथ कार्य सम्पादन गरिरहेको अवस्थामा कुनै कारण र जानकारी बिना राजनीतिक प्रतिशोधका आधारमा करार अवधी थप नगर्ने निर्णय गरिएको आरोप लगाईएको छ।
असार ३१ गते अस्थायी,करार र दैनिक ज्यालादारी कर्मचारीहरु हटाउने निर्णय भएसंगै गाउँपालिका अन्तर्गतका कतिपय कार्यालय अझै बन्द रहेको र आफुहरुका मागका सम्बन्धमा गाउँपालिका मौन देखिएकोले अल्टिमेटम दिनुपरेको उल्लेख गरिएको छ।
जिम्मेवार पक्षबाट आफुहरुको मागको सुनुवाइ गर्दै २४ घण्टा भित्र निर्णय सच्याउन काम नभए तथा कर्मचारी भर्ना सम्बन्धि प्रकाशित भएमा आन्दोलनमा उत्रन बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ।
नेचासल्यान गाउँ कार्यपालिकाको असार ३१ गतेको बैठकले गाउँपालिका अन्तर्गत वडा कार्यालय ,अस्पताल,स्वास्थ केन्द्र लगायत सम्पूर्ण शाखामा कार्यरत अस्थायी,करार ज्यालादारी कर्मचारीहरुको साउन १ गतेदेखि करार अवधि नविकरण नगर्ने निर्णय गरेको थियो।६७ जना कर्मचारीहरुको करार नविकरण नहुंदा कतिपय कार्यालयहरुको काम प्रभावित हुनुका साथै कतिपय कार्यालयहरु अझै बन्द रहेका छन्।
निर्णय लगत्तै गाउँपालिका अध्यक्ष धनजन राई झापातिर लागेपछि सेवाग्राही थप मारमा परेको बताउंदै संघर्ष समिती संयोजक राईले २४ घण्टे अल्टिमेटमको वेवास्ता गरिए भोलि नै उपाध्यक्ष बिना राई र प्रमुख प्रशासकीय अधिकृत लवुन राइको कार्यकक्ष अगाडी कालो पट्टी बांधेर धर्ना दिने र थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताईन।

