कर्मचारीको करार अवधि नथप्ने निर्णय नसच्याए प्रतिबाद गर्ने एमाले नेचासल्यानको चेतावनी
डिल्ली शर्मा,सोलुखुम्बु। नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीले गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुलाई विना कारण सामान्य सूचना समेत नदिइ सेवाबाट बर्खास्त गर्नु खेदजनक भएको बताउंदै तत्काल निर्णय सच्याउन स्थानीय सरकारलाई आग्रह गरेको छ।

नेचासल्यान गाउँपालिका अन्तर्गतका कार्यालयहरुमा कार्यरत अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीहरुको साउन १(आज) बाट लागु हुने गरी गरिएको करार अवधि थप नगर्ने कार्यपालिकाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीले आइतबार बिज्ञप्ति जारी गर्दै तत्काल निर्णय नच्याए आउन सक्ने परिस्थितिको जिम्मेवार स्थानीय सरकार स्वयम हुने चेतावनी समेत दिएको छ।
गाउँ कार्यपालिकाले गत शुक्रबार मध्यराती गरेको गलत निर्णयको प्रतिवादका लागि तयार रहन गाउँपालिकावासीलाई आग्रह गर्दै गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाद्वारा जारी बिज्ञप्तिमा अगाडी भनिएको छ- संघीय नेपालको संविधान २०७२ जारी भएपछि संविधानले परिकल्पना गरेको ३ तहको सरकार २०७४ सालमा पहिलो पटक गठन भएको थियो । संघ,प्रदेश र स्थानीय तह गरी तीनै तहलाई सरकारको रुपमा परिकल्पना गरेको संविधानको मर्म अनुरुप निर्वाचन सम्पन्न भइ प्रतिनिधिहरु निर्वाचित भए । जनताको सबैभन्दा नजिकको सरकारको रुपमा स्थानीय सरकार रह्यो तर संघियता कार्यान्वयनको सुरुवाती चरण भएकाले निर्दिष्ट सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको अभाव थियो । स्थानीय सरकार सञ्चालनका लागि ऐन नियम तथा कार्यविधिहरु थिएन्न । तसर्थ, स्थायी कर्मचारीको पदपूर्ति लामो समयसम्म नहुँदा सेवा प्रवाहमा सून्यता आउने परिस्थितिलाई मध्यनजर गरी विद्यमान कानुुनको अधिनमा रहि स्थानीय सरकार सञ्चालनसँंग सम्बन्धित ऐनहरु निर्माण गरी आवश्यक जनशक्तिको पदपूर्ति भएको थियो ।
सेवा सम्झौता गरिएका कर्मचारीहरुले नेचासल्यान गाउँपालिकाले निर्दिष्ट गरेका कामहरु इमान्दारिताका साथ गरिरहेको अवस्थामा २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुले सेवामा कार्यरत करार कर्मचारीहरुलाई विना कारण सामान्य सूचना समेत नदिइ २०७९ साल असार ३१ गते मध्यरातमा सेवावाट वर्खास्त गर्ने निर्णय सार्वजनिक गर्नु निन्दनीय मात्रै नभएर खेदजनक छ । यस सन्दर्भमा सम्पूर्ण करारका कर्मचारीहरुलाई कत्तिपनि विचलित नभई संगठित ढंगले कानुनी उपचारमा लाग्न आग्रह गर्दै नेपाल निजामति कर्मचारी संगठनले निकालेको विज्ञप्तिप्रति नेकपा एमाले ऐक्यवद्धता जाहेर गर्दछ ।
विशेषगरी गाउँपालिका आफैँले सञ्चालनमा ल्याएको अस्पताल बन्द गर्ने देखि स्वास्थ्य, कृषि, पशुसेवा, विधुत लगायतका क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई राजनीतिक प्रतिशोध राखी बिना कारण हटाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अवगत गराउँदै तत्काल निर्णय सच्याउन स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ । यदि यस विषयलाइ वेवास्ता गरी निर्णय नसच्याइएमा आउन सक्ने परिस्थितिको जिम्मेवार स्थानीय सरकार स्वयम् हुने व्यहोरा अवगत गराउँदै नेचासल्यान गाउँपालिकावासी सम्पूर्ण महानुभावहरुमा गलत निर्णयको प्रतिवादका लागि तयार रहन समेत आग्रह गर्दछौं ।

