सभापति देउवाविरुद्ध पार्टी मुख्यालय सानेपामा कार्यकर्ताको नाराबाजी
काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिरुद्ध पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन भएको छ।

केन्द्रीय कार्यसमिति बैठकअघि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्व विभिन्न नाराहरु लेखिएका प्ले-कार्डसहित नेता शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले प्रधानमन्त्री देउवाको गाडीलाई कांग्रेस कार्यालय परिसर प्रवेशमा अवरोध पुर्याएपछि प्रहरीसँग धकेलाधकेल भएको छ ।
तरुण र विद्यार्थीहरुले भ्रातृ संस्थामा एकलौटी नियुक्ति गरेको तथा अध्यक्षमात्रै नियुक्त गरेर अपूरो बनाएको, महाधिवेशन सकिएको छ महिना बितिसक्दा पनि पार्टीका विभागहरु गठन नगरेको तथा विधानबमोजिमका अन्य कामहरु पूरा नगरेको भन्दै विरोध गरेका छन् ।
स्थानीय निर्वाचनको परिणाम र चुनावी गठबन्धनबारे छलफल गर्न भन्दै कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु भएको हो।

