नेपालको आलोचना गर्दै भुसालले भने,-‘ढिलो वा चाँडो कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्ने छ’

काठमाडौं।नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कडा आलोचना गर्दै ढिलो वा चाँडो, नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्ने बताएका छन्।

आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधवले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुक पेजमा भुसालले लेखेका छन,-‘२० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन।’
प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याउँदा माधवले विरोध गरेको तर पछि २० प्रतिशत सांसद भए पार्टी फुटाउन सक्ने अध्यादेशबाट पार्टी फुटाएको उनको भनाइ थियो।
माधव नेपाल एमालेमा हुँदा भुसाल उनीनिकट थिए। माधव एमालेमै हुँदा पार्टीका आन्तरिक समस्या समाधान गरेर जाने भन्दै २०७८ असार २७ मा कार्यदलले १० बुँदे सहमति गरेको थियो।

