७७ वटै जिल्ला प्रशासन कार्यालयमा राप्रपाको धर्ना



काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई पेस गरेको २२ बुँदे ज्ञापनपत्र सम्बोधनका लागि दवाव दिन ७७ वटै जिल्लाका प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको छ।

राप्रपाले गत असार १ गते प्रधानमन्त्रीलाई राजनीतिक मागका अतिरिक्त जनजीविकास‍ँग सम्बन्धित विविध २२ बुँदे मागसहितको ज्ञापनपत्र पेस गरेको थियो।

सो माग पूरा गराउन दवाव दिने उद्देश्यले राप्रपा असार १३ गतेदेखि आन्दोलित छ।

यसक्रममा राप्रपाले असार १३ गते किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्दै ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापनपत्र र धर्ना दिएको थियो।

आफ्नो माग सम्बोधन गर्न राप्रपाले असार १७ गते साँझ देशका सबै जिल्ला सदरमुकाममा राँके जुलुस सम्पन्न गरिसकेकाे छ।

असार १९ गते राप्रपा आबद्ध ट्रेड युनियनले श्रमिकको उचित ज्याला र श्रमिकको जीवन बिमाको व्यवस्था हुनुपर्ने भन्दै श्रममन्त्रीको ध्यानाकर्षण गराएको थियाे।

सोही कार्यक्रमको निरन्तरता स्वरूप आज शुक्रबार भ्रष्टाचार नियन्त्रणको मागसहित देशका सबै जिल्लाका प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको राप्रपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्