माओवादी केन्द्रले अझै टुंग्याउन सकेन पदाधिकारी,उपाध्यक्षको जिम्मेवारी भने श्रेष्ठ र महरालाई



काठमाडौं।नेकपा माओवादी केन्द्रले नेकपा (माओवादी केन्द्र)ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष बनाएको छ ।

बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन गर्नुका साथै स्थायी समिति र पोलिटब्युरो सदस्यको टुंगो लगाएको हो।

प्रज्ञा भवनमा बसेको केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी र १५६ सदस्यीय पोलिटब्युरो गठन गरेको हो। ४१ सदस्यीय रहेको स्थायी समितिमा १५ पूर्वस्थायी कमिटी सदस्यलाई निरन्तरता दिइएको छ।

केन्द्रीय बैठकले पोलिटब्युरो सदस्यतर्फ १५६ जना बनाएको छ । सुरुमा १२५ जना बनाउने निर्णय भएको थियो तर, विवाद उत्पन्न भएपछि मिलाएर १५६ पुर्याइएको हो ।

स्थायी समिति र पोलिटब्यूरो सदस्यतर्फ माओवादीले टुंगो लगाए पनि पदाधिकारीको भने टुंगो लगाउन सकेन । अध्यक्ष प्रचण्डले २–४ दिन थप होमवर्क गरेर यसको पनि टुंगो लगाउने बताए ।

पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुंगो लाग्ने बताए । नेता पोखरेलले केन्द्रीय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्यहरु चयन हुन ढिला भएको बताए ।

उनले भने, ‘अहिले स्थायी समिति ४१ सदस्य हुनेभयो । पोलिटब्युरो १२५ र ३१ जना वैकल्पिक गरेर पोलिटब्युरो बनेको छ । पदाधिकारीको सन्दर्भमा केही दिनभित्रमा अहिलेका कुरालाई टुंग्याइन्छ । सबै कुरामा गृहकार्य र छलफल भएका छन्, केन्द्रीय समितिले पूर्णता पाउन ढिला भएको थियो प्राप्त भयो । विधानको आधारमा पोलिटब्युरो निर्माण गर्नुपर्ने काम थियो त्यो सबै सकेर स्वभाविक ढंगले सम्पन्न भयो । सबै छान्ने जिम्मा अध्यक्ष र पहिलेको स्थायी कमिटीका सदस्यहरुलाई अध्यक्षलाई सहयोग गर्न भनिएको छ ।’

नेता पोखरेलले पार्टी अध्यक्ष दाहाल सबै खालका संघर्ष गरेर आएका कारण स्थापित नेतृत्व भएकोले अध्यक्षमा कतिपय कुरा केन्द्रित हुनु स्वभाविक रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्