काठमाडौँ।अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्नका लागि संसदीय समिति गठनको तयारी भइरहेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय छानबिन हुनुपर्ने भन्दै तीब्र दवाब सृजना गरिरहेका बेला संसद सचिवालयले समितिमा बस्ने सांसदहरूको नाम माग गरेको बताइएको छ।प्रतिनिधिसभाको बुधबारको बैठकमा नै संसदीय छानबिन समिति गठनको तयारी भइरहेको छ।

‘आवश्यक परेमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने हुनाले दलका सचेतकहरूसँग समितिमा बस्ने सांसदहरूको नाम मागिएको हो,’ संसद सचिवालयका एक अधिकारीले भने ।
प्रमुख प्रतिपक्षी एमालेले भने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने नभए बर्खास्त गर्नुपर्ने माग अघि सारेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राजीनामा वा बर्खास्ती नभएसम्म संसद चल्न नदिने बताए ।उनले पहिला अर्थमन्त्रीबाट शर्मा हटेपछि संसदीय समितिले छानबिन गर्नुपर्ने बताएका छन् ।

