‘सगरमाथा अन्तर्राष्ट्रिय पहिचान हो ,यसलाई प्रदेश १ को नाम राख्दा समस्या आउँने देखियो:एमाले
केदार बस्नेत। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रदेश १ का सांसद तथा पूर्वमन्त्री हिक्मत कार्की आफ्नो पार्टी सहमतिका आधारमा नभए मतदानबाट प्रदेशको नाम टुङ्गो लगाउनुपर्ने पक्षमा रहेको बताउँनु भएको छ।नेकपा एमाले भूगोललाई आधार मानेर नाम राख्नुपर्ने पक्षमा रहेको कार्कीको भनाई थियो ।‘भूगोल पनि पहिचान र सभ्यतासँग जोडिएको छ,’ उहाले भन्नुभएको छ, ‘एमाले सबै विषयमा छलफल गर्न खुला छ ।’

प्रदेश सभामा कोसी, सगरमाथा, कोसी किराँत, विराट, लिम्बूवान, विजयपुरलगायत नाम चर्चामा छन् । ती मध्ये भूगोलको पक्षमा रहेको नेकपा एमालेले कोसीलाई प्राथमिकता दिएको छ । सगरमाथाको नाम चर्चामा पछिल्लो समय सेलाएको छ ।
‘सगरमाथा अन्तर्राष्ट्रिय पहिचान हो, यसको आधारमा प्रदेशको नामकरण गर्न उपयुक्त हुन्न्,’ एमालेका एक सांसदले भने, ‘भोलि प्रदेशको नक्साङ्कन हेरफेर हुँदा सगरमाथा प्रदेश १ मा नरहन सक्छ ।’
एमाले नेता कार्की पनि नक्साङ्कन हेरफेर हुँदा सगरमाथा प्रदेश १ मा नपर्ने अवस्था आउन सक्ने बताउँछन् । प्रदेश १ मा रहेको सगरमाथा रहेको जिल्ला सोलुखुम्बुबाट प्रदेश १ को राजधानी विराटनगर आउँदा मधेश प्रदेशको बाटो प्रयोग गर्नुपर्ने अवस्था छ ।
‘भोलि सिमाङ्कन हेरफेर हुनसक्ने भएकाले सगरमाथा उपयुक्त होइन्,’ ती नेताले भने,’हाम्रो जोडबल कोशी राख्नुपर्ने पक्षमा छ ।’
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी पहिचान जोड्नुपर्ने पक्षमा छ । नेपाली कांग्रेस पहिचान र भूगोल दुवै पक्ष स्वीकार गर्ने पक्षमा रहेको बताउछ।
९० जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेसँग ३९, नेपाली कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकतृ समाजवादीसँग १०, जसपासँग ३ र राप्रपा र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चसँग एक–एक सांसद छन् ।प्रदेश १ ले २०७६ वैशाख २३ गते प्रदेशको स्थायी राजधानी पाएको थियो । तत्कालिन समयमा पहिचान की भूगोलका आधारमा नाम राख्ने भन्ने विषयमा विवाद भएपछि नामाङ्कनको मुद्दा थाती राखिएको थियो।प्रदेशको दशौ सभा तथा अन्तिम कार्यकालमा नाम राख्नैपर्ने दबदबामा नेताहरु रहेका छन।

