प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओलीले गरे संसदीय छानबिन समिति गठनको माग



काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण गर्दा बिचौलियाको संलग्नता रहेको भन्दै संसदीय छानबिन गर्नुपर्ने माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेट निर्माण गर्दा बिचौलियाको संलग्नता रहेको भन्दै संसदीय छानबिन गर्न माग गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘यस विषयमा संसदीय छानबिन समिति बनाउँ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि सकिँदैन । योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ ?’

मन्त्रीहरुले लापरबाही ढंगले काम गर्दा पनि प्रधानमन्त्री शेरबहादुर जवाफदेही बन्न नसकेको आरोप पनि उनले लगाए । उनले भने, ‘अहिले मेरो नेतृत्वको सरकार र मन्त्रीले जे पनि गर्न पाउँछन् भनेर प्रधानमन्त्री बस्न मिल्दैन । संसदीय प्रणालीमा यसको प्रमुख प्रधानमन्त्री हुन्छ । यस्ता कुरामा अरु जवाफदेही भएनन् भने प्रधानमन्त्री जवाफदेही हुनुपर्छ ।’

अध्यक्ष ओलीले अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुटेज समेत सार्वजनिक नगरेर हटाएकोमा आपत्ति जनाए ।अर्थ मन्त्रालयमा व्यापारी बोलाएर र उनीहरूकै इच्छाअनुसार करको दर परिवर्तन गरिएको भन्दै उनले व्यापारीका मान्छे राखेर बजेट बनाउनु आर्थिक अनुशासनहीनताको पराकाष्ठा भएको पनि बताए । यसबारे छानबिन गर्न ओलीले माग गरे ।

अर्थमन्त्री जनार्दन शर्माले एमाले को हो ? उसले भन्दैमा सिसिटिभी फुटेज दिनुपर्छ ? भनेर दिएको अभिव्यक्तिप्रति प्रतिवाद गर्दै ओलीले यसबारे मन्त्री मात्र होइन, सिंगो मन्त्रिपरिषद्सहित प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताए ।

एसपीपीबारे उनले सरकारबाटै अन्योलमा राख्ने काम भएको भन्दै विरोध गरेका छन् । ‘इनफ इज इनफ, अब त अति भयो’ उनले भने । एसपीपीका सन्दर्भमा सरकारले जनतालाई अन्योलमा राखेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्