नाम्चे र काठमाडौंमा फ्रान्सेली फिल्म ‘दिग्बी’को छायांकन गरिने



काठमाडौं।फ्रान्सेली फिल्म ‘दिग्बी’को छायांकन नेपालमा हुने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।

फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको छ । ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली कलाकार समेत हुनेछन् । रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीतकार, निर्देशक तथा लेखक समेत रहेका सिमोनले ९० प्रतिशत छायांकन नेपाल र बाँकी फ्रान्समै हुने जानकारी दिए ।

सन् २०१५ को महाभूकम्पको बेला पनि नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेका सिमोनले त्यतिबेलादेखि नै नेपालमा फिल्म सुटिङको योजना बनाएका थिए ।
प्रेसमिटमा उनले भने, ‘धेरै विदेशी मान्छे नेपालमा आउँछन् आध्यात्मिकताको खोजी गर्न । म पनि आएको छु आनन्द र खुशि दिने एउटा फिल्म बनाउन ।’

कोभिड महामारीको कारण नेपालसहित विश्व फिल्ममा संकट आएको बताउँदै निर्देशक सिमोन्ले छायांकन हुन लागेको यो फिल्मले नेपालको पर्यटनलाई पनि सघाउने आशा राखे । आफू टपगन, जुरासिक पार्कजस्ता फिल्मको दर्शक भए पनि आफूले फिल्ममा आध्यात्मिकता र सन्देशको खोज गर्न रुचाउने बताए ।
फिल्मले आध्यात्मिकता, संगीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा भन्छ । पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा एक सारंगी वादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन फिल्मको कथावस्तु हो ।

फिल्मको मुख्य पात्रको रुपमा रहेको बालक दिग्बी पात्रको कास्टिङ चाँडै हुने जनाइएको छ । फिल्मको नेपाल लाइन प्रोड्युसर नेपाल फिल्म प्रोडक्सनका प्रमख दिग्विजय भारती र सुरेश अधिकारीले फिल्ममा नेपाली टोली पनि हुने बताए । मार्चदेखि फिल्म निर्माण सुरु हुने बताउँदै उनीहरुले काठमाडौंका पर्यटकीय सम्पदा र पर्यटकीय थलोमा छायांकन हुने जनाए । इकागजबाट

प्रतिक्रिया दिनुहोस्