प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्जले महाकुलुङमा पर्यटन बिकासको ढोका खोल्छ : पूर्बराज्यमन्त्री बस्नेत
काठमाडौं।पूर्बराज्यमन्त्री समेत रहेका प्रदेश-१ सांसद उत्तमकुमार बस्नेतले प्राकृतिक रूपमा अत्यन्तै सुन्दर रहेको महाकुलुङ गाउँपालिकाको समृद्धिका लागि पर्यटन ब्यबसाय प्रमुख आधार रहेको बताएका छन्।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं-१ स्थित चेरेमका स्थानीयको सक्रियतामा स्थापित चेरेम यूवा समाजले शनिबार राजधानीमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।उनले प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्जले महाकुलुङमा पर्यटन बिकासको ढोका खोल्ने बताउंदै त्यसलाई सफल बनाउन आफू प्रयासरत रहेको जानकारी दिए।त्यसका लागि महाकुलुङको गुंदेलमा बन्ने बिमानस्थलको काम अघि बढाउनु आवश्यक रहेको सांसद बस्नेतको भनाई थियो।
बधाई तथा सम्मान कार्यक्रममा समाजकोतर्फबाट महाकुलुङ गाउँपालिकाका नव निर्बाचित अध्यक्ष सुर्य बहादुर कुलुङ, हिमाल आरोही गाल्देन शेर्पा र पासाङ ओङछु शेर्पालाई सम्मान गरिएको थियो।आरोही पासाङले महाकुलुङ गाउँपालिकाको र गाल्देनले चेरेम यूवा समाजको लोगो सगरमाथाको चुचुरोमा पुर्याएका थिए ।
समाजका कार्यबाहक अध्यक्ष फुर्लाक्पा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तराष्ट्रिय पथप्रदर्शक संघका अध्यक्ष लामा बाबु शेर्पा, सिएन फाउण्डेशनका अध्यक्ष नुरु शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

