जसपाले बोलायो केन्द्रीय समिति बैठक,असार २७ र २८ वीरगञ्जमा हुने
वीरगञ्ज। पार्टी विभाजनको तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक डाकेको छ। केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा तय भएको हो।

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो। दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ।
अहिले जसपामा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीच मनमुटावका कारण पार्टी फुटको संघारमा रहेको छ। यादव पक्षले पार्टीबाट मन्त्री फिर्ता बोलाउने तयारी गरे पनि यसबारे आधिकारिक निर्णय भने भइसकेको छैन।

