कांग्रेसमा सभापति देउवाबिरुद्ध असन्तुष्टि बढ्दै,शेखरले बोलाए आफुपक्षीय नेताहरुको छुट्टै बैठक



काठमाडौं।महाधिवेशन सम्पन्न भएको लामो समय पछि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको छुट्टै बैठक बोलाएका छन्।

बिहीबार दिउँसो २ बजे भेलामा मुख्यगरी तीन विषयमाथि छलफल गर्ने तयारी छ।

पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज दिउँसो कोइराला पक्षको भेला बोलाईएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै आलोचना भइरहेको छ।

साथै सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्।

गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको थियो। विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ।

सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनीत गर्नुपर्ने हो। तर अहिलेसम्म कोषाध्यक्ष पद रिक्त छ।

३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवानिकटका हुन्। कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो। सभापतिमा देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य छन्।

यस्तै केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डलाई पनि सभापति देउवाले पूर्णता दिएका छैनन्।

सभापति देउवाले गत पुस १० मा कार्यभार सम्हालेका थिए। त्यो दिनदेखि गणना गर्दा पनि देउवा सभापति भएको छ महिना कटिसकेको छ।

कांग्रेसका युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री भएका बेला पनि विधान कार्यान्वयन हुन नसकेको भन्दै कांग्रेसभित्र आलोचनासमेत सुनिन थालेका छन्।

महामन्त्रीद्वय थापा र शर्माले केही दिनअघि सभापति देउवालाई बालुवाटारमा भेटेर विधान कार्यान्वयन गर्न विभाग गठन लगायतका काम अगाडि बढाउन आग्रह गरेका थिए।

केन्द्रीय समिति बैठक आह्वान गरेर समसामयिक राजनीति तथा नीति महाधिवेशनलगायतका विषयमा छलफल गर्न उनीहरूले सभापति देउवालाई आग्रह गरेका थिए।

कांग्रेसको केन्द्रीय समिति बैठक चैतदेखि बसेको छैन। यसबीचमा वैशाख ३० मा स्थानीय चुनाव भयो। कांग्रेसले ०७४ मा भन्दा स्थानीय चुनावको परिणाममा सुधार गरे पनि निर्वाचनबारे समीक्षा भएको छैन।

प्रतिक्रिया दिनुहोस्