देशभर मनसुनी वायुको प्रभाव थप सक्रिय,मंगलबारदेखि बिहिवारसम्म बर्षाको सम्भावना



काठमाडौं । गत जेठ २२ गते प्रदेश नं.१ मा प्रवेश गरेको मनसुन प्रणाली असार १२ गतेसम्म आइपुग्दा सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । योसँगै देशभर मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवारदेखि बिहीवारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आईपुग्ने सम्भावना रहेकोले मनसुन थप सक्रिय हुने देखिएको छ ।
यसको प्रभावले गर्दा मंगलवार देखि बिहिवार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही मंगलबार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी पर्ने महाशाखाले जनाएको छ ।

‘तसर्थ मंगलबार देखि बिहिबार सम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ,’ महाशाखाले आज एक विज्ञप्ति जारी गरी भनेको छ ।

प्रतिक्रिया दिनुहोस्