गत बर्षको तुलनामा सोलुखुम्बुमा घरेलु हिंसाका घटना दोब्बर वृद्धि
सोलुखुम्बु । सोलुखुम्बुमा महिला माथि हुने घरेलु हिंसाका घटना गत बर्ष भन्दा दोब्बरले बृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको घटना विवरणअनुसार जिल्लामा घरेलु हिंसाका घटनामा बृद्धि भएको हो ।

सन् २०२१ मा २८ वटा घटना अभिलेखिकरण गरेको इन्सेकले सन् २०२२ को ६ महिनाको अवधिमा २५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ ।अर्ध बार्षिक समयावधिका आधारमा तुलना गर्ने हो भन्ने यो गत बर्ष भन्दा दोब्बर बढी हो।
सोमबार सल्लेरीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि अन्जु कार्कीले सबै भन्दा बढी घरेलु हिंसा र बालिकामाथि हुने बलात्कारका घटनामा वृद्धि भइ रहेको बताएकि छन्।
गत वर्ष १० ओटा बलात्कारका घटना भएकोमा योवर्ष ६ महिनाको अवधिमा ९ वटा बलात्कार र बलात्कार प्रयासका घटना घटेको उनको भनाई छ । इन्सेकको तथ्याङ्क अनुसार गत बर्ष ६ ओटा घरेलु हिंसाका घटना घटेका थिए भने चालु वर्षको ६ महिनामा १३ वटा घटना घटेका छन् ।
नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षतामा सरोकारवालाबीच गरिएको अन्तरक्रिया कार्यक्रममा बाल यौनदुव्र्यवहारका १, परिवारजनबाट हत्या २ रगैरराज्यबाट १ वटा घटना भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको कार्यको उच्च प्रशंसा गरेका छन् । मावनअधिकार उल्लङ्घनका घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको अधिकारकर्मीले बताएका छन् ।

