थुलुङ दुधकोशी : शिक्षा नीति पुर्णरुपमा कार्यन्वयन गर्न अध्यक्ष राईको निर्देशन



थुलुङदुधकोशी । थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले शिक्षा नीतिलाई पुर्णरुपमा कार्यन्वयन गर्न निर्देशन दिनुभएको छ ।

गाउँपालिकाको वडा नं-२ स्थित जीवन ज्योती माध्यमिक विद्यालय भवनको उद्घाटन गर्दै उहाँले शिक्षा नीति विपरितका कुनैपनि कार्य नगर्न चेतावनी दिनुभयो ।
भाषण गरेर मात्रै शैक्षिक गुणस्तरमा वृद्धि नहुने भएकाले शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला पक्ष सबै एक भएर लाग्नुपर्ने भन्दै अध्यक्ष राईले पाठ्यक्रमलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिनुभयो ।

जिल्ला आयोजना कार्यन्वयन इकाइ (शिक्षा) सोलुखुम्बुबाट प्राप्त रु. ७० लाख बजेटबाट काँगेलमा चार कोठे आरसीसी पक्की विद्यालय भवन निर्माण गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उक्त भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा पठनपाठन कार्यमा निकै सहज हुने विश्वास व्यक्त गरिएको छ ।

यस्तै सोही कार्यक्रमको अवसरमा शैक्षिक सत्र ०७७ को एसईइ परीक्षामा उत्कृष्ट जीपीए ल्याउने छात्र र छात्रालाई नगद हस्तान्तरण गरिएको छ । सात वर्ष पहिले विद्यालयमा स्थापना गरिएको तिलसम अक्षयकोषबाट हरेक वर्ष दुई जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिदै आएको छ । जस अन्तरगत २०७७ सालमा ३.२ जीपीए प्राप्त गर्ने सरोज बस्नेत र ३.३० जीपीए प्राप्त गर्ने लिलामाया रोक्कालाई जनही रु.३ हजार नगद प्रदान गरिएको अक्षकोषका संरक्षक धन्दिराम राईले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष युजन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्