एमाले फुटाएर जानेहरुलाई पार्टीमा समाहित गर्न सकिन्छ,स्वागत गर्न सकिंदैन : ओली



काठमाडौं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर जानेहरु पार्टीमा समाहित हुन सक्ने तर स्वागत भने गर्न नसकिने बताएका छन्।

विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पहिले एमाले फुटाएर जानेहरुलाई पुन पार्टीमा स्वागत गर्ने चलन नरहेको बताएका हुन् ।उनले माधव नेपाल नेतृत्वको पार्टीको हविगत भएको टिप्पणी गरे । प्रधानमन्त्रीले पार्टीबाट निस्काशित मन्त्रीहरुलाई पनि थमाएर राख्दा पनि माधव नेपाल नेतृत्वको पार्टी निरिह रहेको आरोप लगाउंदै भने, ‘पार्टीले मन्त्री निकाल्यो तर निक्लिएनन् । पार्टीको हालत यस्तो भइसक्यो,।’

नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा एमालेलाई अत्यधिक स्थानमा विजयी गराउने उनले दावी पनि गरेका छन् ।

उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखे।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताएका छन् । उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको तथा अन्य पार्टीहरु वामपन्थी नभएको जिकिर गरे।उनले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्