पौडेलले बुझाए सभापति देउवालाई स्थानीय तह निर्बाचन अनुगमन तथा मूल्यांकन प्रतिबेदन
काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह निर्वाचन अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमिति संयोजक प्रदीप पौडेलले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका छन् ।

स्थानीय निर्वाचन २०७९ सम्बन्धी यो उपसमितिलाई दिइएको कार्यादेश अनुरुप तयार गरिएको प्रतिवेदन सभापति देउवालाई बुझाइएको हो ।
स्थानीय निर्वाचनको लागि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले विभिन्न उपसमितिहरू बनाएको थियो । जसअनुसार अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले वडा तहसम्म निर्वाचनको गतिविधि र परिचालन के कसरी सञ्चालन भइरहेको छ र गठबन्धनमा रहेका दलहरू बिचको समन्वय कस्तो भइरहेको छ भन्ने विषयवस्तुको अध्ययन र विश्लेषण गरेको थियो।
उपसमितिका संयोजक पौडेलले बुझाएको प्रतिवेदनअनुसार कांग्रेसले ४२३ पालिकामा एकल उम्मेदवारी दिएकोमा २०१ पालिका गठबन्धन बिना नै २०९ पालिकामा गठबन्धन गरेर उम्मेदवारी दिँदा १२८ पालिकामा मात्रै जितेको उल्लेख छ।
कांग्रेसले देशैभर ६३२ पालिकामा उम्मेदवारी दिएकोमा ३२९ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ ।कांग्रेसले उम्मेदवारी दिएकोमध्ये ५२.०५ प्रतिशत पालिका जितेको छ भने समग्रमा ४३.७ पालिका जितेको छ ।
कांग्रेसले गठबन्धन नगरी ४१६ कार्यकारी पद जितेको छ भने गठबन्धन गरेर २१३ कार्यकारी पद जितेको प्रतिवेदनमा उल्लेख छ ।

