संसद बैठकमा एमालेको प्रश्न- ‘प्रधानन्यायाधीश राणाबिरुद्धको महाभियोग किन अघि बढेन?’
काठमाडौं।प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव संसदमा अघि बढाउन प्रमुख प्रतिपक्ष एमालेले दबाब बढाएको छ । बुधबार प्रतिनिधिसभाको शून्य समयमा एमाले सांसद खगराज अधिकारीले महाभियोग प्रस्तावको प्रक्रिया अघि नबढेकोमा आपत्ति जनाए । यसअघि मंगलबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा समेत एमालेले महाभियोग प्रस्ताव अघि बढाउन सभामुखसँग आग्रह गरेको थियो ।

प्रतिनिधिसभामा सांसद अधिकारीको प्रश्न थियो, ‘महाभियोगको प्रस्ताव असरल्ल पार्न ल्याएको हो कि फैसला गर्न ? त्यो तुरुन्त अघि बढाउन जोडदार माग गर्दछु ।’ बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै एमाले सचिव तथा सांसद पद्मा अर्यालले पनि महाभियोग टुंगोमा पुर्याउनुपर्ने बताइन् । संसदमा महाभियोग प्रस्ताव दर्ता भइसकेपछि अलपत्र पार्न नहुने अर्यालको भनाइ थियो । ‘यो महाभियोग पास गर्नका निम्ति ल्याइएको होइन । निश्चित उद्देश्य पूरा गर्नका निम्ति ल्याइएको हो भनेर हामीले हिजो जे भनेका थियौँ, त्यो आज पुष्टि भएको छ,’ उनले भनिन्, ‘फेरि पनि हाम्रो कुरा के छ भने कि लगाउनुहुन्नथ्यो, लगाइसकेपछि संसदमा छलफल चलाएर टुंगोमा पुर्याउनैपर्छ ।’

