सरकारले माग्यो एक करोडभन्दा बढी मूल्यको घरजग्गा किन्नेको विवरण
काठमाडौं।भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा व्यवसायीसँग एक करोडभन्दा बढी मूल्यको घरजग्गा किन्नेको विवरण मागेको छ।

विभागले घरजग्गा व्यवसायीलाई मंगलबार निर्देशन जारी गर्दै एक करोड वा सोभन्दा बढीको घर जग्गा किनबेच गर्नेको विवरण विभागले तोकेको ढाँचामा सम्बन्धित मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको हो।
त्यस्तै, शंकास्पद कारोबारको विवरण नेपाल राष्ट्र ब्यांकमा रहेको वित्तीय जानकारी एकाइमा तोकिएको ढाँचा, माध्यम र समयमा बुझाउन पनि निर्देशन दिएको छ। कालोधनलाई सेतो बनाउन घरजग्गा क्षेत्र प्रयोग भइरहेको भनि चर्चा चलिरहेका वेला विभागले किनबेचको विवरण मागेको हो।
नेपाल सरकारको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदनले घरजजग्गा क्षेत्रलाई उच्च रुपमा सम्पत्ति शुद्धीकरण हुनसक्ने क्षेत्र औंल्याएको छ। यससम्बन्धी नेपालको अन्तर्राष्ट्रिय पारस्परिक मूल्यांकन पनि भइरहेको सन्दर्भमा घरजग्गा कारोबारीलाई कारोबारको विवरण नियमित रुपमा बुझाउन विभागले निर्देशन जारी गरेको हो।
विभागका अधिकारीहरूले जोखिमका आधारमा घरजग्गा कारोबारीमाथि निरीक्षण, सुपरीवेक्षण र अनुगमन गर्ने पनि जनाएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम काम नगर्ने व्यवसायीलाई कानूनबमोजिम कारबाही अघि बढाउने पनि विभागले जनाएको छ।

