पार्टी फुट्ने भएपछि मन्त्री फेर्ने निर्णयबाट माधव नेपाल ब्याक!



काठमाडौं।पार्टीका १८ जना सांसदहरुले बिद्रोह गर्ने तयारी सुरु गरेपछि पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णयबाट माधव नेपाल तत्कालका लागि पछि हटेका छन्।

कुनै जानकारी नै नदिई पार्टीको सचिवालय बैठकले आफुहरुलाई फिर्ता बोलाउने निर्णय गरेको भन्दै सरकारमा सहभागी बिरोध खतिवडा र प्रेम आले लगायतका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग गुहार मागे पछि अध्यक्ष नेपाल सहितका नेताहरु आफ्नै निर्णयबाट पछि हट्न बाध्य भएका हुन्।

सोमबार नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको तर्फबाट नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए ।नेकपा एकीकृत समाजवादी (एस) ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यसलाई अस्वीकार गरिदिएका छन् ।

सोमबार बिहान यस विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बोलाएका थिए । बैठकमा अहिले मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाब बढ्ने र त्यसले सत्ता गठबन्धनको निरन्तरतामै समस्या उत्पन्न हुनसक्ने जोखिमबारे समीक्षा भएको थियो । त्यसको असर बजेट पारित गर्ने कार्यमै पर्न सक्ने देखिएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।प्रधानमन्त्री देउवाको यो निर्णयले सपथ खान तयार भएर बसेका नेकपा एसका नेताहरु अलपत्र बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्