कांग्रेसको दम्भका कारण थुप्रै जिल्लामा गठबन्धन तोडिएको माओवादी नेता पोखरेलको आरोप
काठमाडौं।नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको दम्भका थुप्रै जिल्लामा गठबन्धनको सहमति तोडिएको आरोप लगाएका छन ।”

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि कुरा गर्दै नेता पोखरेलले भने, “प्रचण्डले नेपाली कांग्रेसले अहंकार देखाएको भन्नु सही हो । उसको दम्भका कारण काठमाडौंमा माओवादी केन्द्रले एउटा पनि वडा पाएन । ललितपुरको हाम्रो उपमेयरको उम्मेदवारलाई कांग्रेसले भोट दिएन । दाङमा हाम्रो मेयरको भन्दा कांग्रेसको उपमेयरको भोट बढी आयो ।
माओवादी केन्द्रका नेता पोखरेलले कांग्रेससँगको गठबन्धन चिरस्थायी नभए पनि संघीय निर्वाचनसम्म जाने बताए । उनले भने, “यो गठबन्धनको उद्देश्य अझै पूरा भएको छैन । निर्वाचित जनप्रतिनिधिको संस्था बनेपछि मात्र संविधानको रक्षा हुन्छ । त्यसका लागि विश्वासको वातावरण चाहिन्छ । हामीलाई के थाहा छ भने नेपाली कांग्रेससँगको गठबन्धन कालान्तरसम्म चिरस्थायी हुने होइन । तर अहिले नै तोडिहाल्ने बेला भएको छैन । यसलाई बचाउने मुख्य जिम्मेवार नेपाली कांग्रेसको हो । यो कुरा शेरबहादुर देउवाले बुझ्नुभएको छ । तर कांग्रेसमै अन्तरविरोध छ ।”

